Ink & Silence
Poem

बलि चढेका सपनाहरू

Punya Prasad Kaphle
February 27, 2026 • 3 views • 1 min read

आमा,

आकाशमा मडारिरहेको थियो, 

बारुदको धुवाँ बोकेको कालो बादल,

त्यो दिन, घाम पनि रातो अस्ताएको थियो,

सायद रगतको छिर्काले सूर्यपनि लत्पतिएको थियो।

 

सडकमा बिस्कुन झैं छरिएका थिए

देश बनाउने मीठा सपनाहरू,

अनि ढलेका थिए 

भगवानका लागि बलि चढाइएका

निर्दोष यूवाहरु।

 

प्यासी जमिनले पिउँदै थियो,

भुईंभरी पोखिएको रगत,

खुल्ला सडकमा रगत बगाउँदै थिए,

सुशासनको नारा,

अनि परिवर्तनको अभिलाषा 

 

घरमा आमाबा पर्खिदै थिए,

सायद भान्सामा खाना पर्खंदै थियो,

पर्खंदै त थियो होला सुन्दर भविष्य पनि,

तर अझै धेरै पर्खंदै रहेछन्,

रक्तपिपासुका गोलीका खोकाहरू।

 

आमा,

कुनै दिन, यी हातहरूले,

ती नरभक्षीहरूलाई भोट खसाल्नु परेछ भने,

छिनाईदिनुस् है मेरा यी हातहरू,

मञ्जुर छ मलाई अपाङ्गभै बाँच्न,

तर नलागोस् 

सहिदको रगतमा लत्पतिएको दाग 

मेरा औलाहरुमा

About Punya Prasad Kaphle

Punya Kafle was born in 2045 B.S. and has been serving as a teacher since 2067 B.S. With a deep love for literature since childhood, he finds joy in expressing thoughts and emotions through words. Though primarily devoted to teaching, he writes occasionally—crafting stories, poems, and reflections inspired by life, society, and human experience.

Read more by Punya Prasad Kaphle →

Posts You May Like

Comments