सम्झनामा फूलेको फूल
तिमी मेरो बगैँचामा फुल्न नसकेको फूल हौ।
जुन बगैँचामा फुलेकी छ्यौ, फुलिरहनू
अनि छरिरहनू सुवास संसारभरि
केही फूलहरू सँगै राख्नका लागि हुन्छन्,
केही सम्झनामा सजाउनका लागि।
तिमी त्यो फूल हौ,
जसले मेरो रित्तो मन सजाइरहने छ।
तिमी मेरो छेउमै फुलिरहेकी थियौ,
तर डराए यी हातहरू टिप्नलाई
अनि डराए हातहरू
त्यो सुन्दर फूललाई पूरानो किताबको
अँध्यारो पानाभित्र कैद गर्न
डराएँ म,
सोचेँ, त्यो किताबको पानाभित्र
निस्सासिने छन्, तिम्रा सपनाका पत्रहरू,
अनि त सकिनँ
ठुलो बगैँचामा फुल्नुपर्ने फूललाई
मेरो सानो गमलामा सीमित गर्न।
तर निरास छैन म,
तिम्रो सुवास बोकेर हावा मसँग आएकै छ,
तिम्रो सुन्दरताको गीत कोइलीले गाएकै छ,
तिम्रो उज्यालो चोरेर चम्किरहेको सूर्य हेर्छु,
तिम्रो रङ चोरेर रङ्गिएको इन्द्रेणी हेर्छु,
अनि सोच्छु,
सूर्य उदाउनुभन्दा पहिले
तिम्रो प्रेमिल उज्यालो पोखिन्छ मेरो छातीभरि
इन्द्रेणी हाँस्नुभन्दा पहिले
तिम्रो मुस्कानले रङ्ग्याउँछ मेरो ओठ अझै पनि
यसकारण आज पनि
मैले मन पराएको फूल देवताको थानमा देख्छु
जो देवीको स्वरूपमा हुन्छिन्
म उसैको प्रेमिल भजन गाइरहेको छु।