Story

स्वर्ग जाने बाटो

Punya Prasad Kaphle
February 23, 2026 • 381 views • 1 min read

म उभिईरहेको छु लाइनमा। म भन्दा अघिपछि पनि निकै मान्छे छन । कोही बूढा छन त कोही बालक, अनि कोही छन मेरै उमेर समुहका। अगाडि दुई वटा गेटहरू छन्। गेट पुग्नुभन्दा अगाडि एउटा सानो झुप्रो जहाँ बसेका छन निकै ठूलो र मोटो शरीर भएका केही मान्छे हरू। अगाडि उभिएका मान्छे हरू भन्दै छन यही झुप्रो मा हाम्रो परिक्षण गरिनेछ अरे। मेरो अगाडि उभिएकी छिन एक सुन्दर केटी। मुहार मलिन छ, उनको पनि मेरो जस्तै। म पनि खुसी त कहाँ छु र! पश्चाताप छ, आफैँले गरेको कार्यप्रति। अनि सायद उनी पनि।

लाइन अलिक अगाडि सर्छ। अनि म पनि। अनि देख्छु गेटमा लेखिएको अक्षर.....एउटा सुन्दर गेट छ अनि लेखिएको छ, "स्वर्ग जाने बाटो" अनि अर्को गेट अलिक पुरानो छ, अनि लेखिएको छ "नर्क जाने बाटो।। " सबै जना चिन्तित छन्, कता तिर परिने हो भनेर। मन त छ सबैलाई स्वर्ग जाने। तर एउटा बोर्डमा लेखिएको छ, "तपाइको बाटो तपाईँले गरेका कामहरुले निर्धारण गर्नेछ....." म भन्दा अगाडिको केटीको पालो आउँछ। म पनि छेउमै त छु। उताबाट प्रश्न तेर्सिन्छ-" तपाईँले आत्महत्या गर्नु भा?" केटी निस्सासिँदै हो भन्छे। अनि छेउको भुसतिघ्रे कराउँछ" कायर हरूलाई स्वर्गमा कुनै ठाउँ छैन।"  

म सोच्न थाल्दछु, म पनि त त्यही कायर हुँ, जसले बाच्नको लागि हजारौँ कारण हुँदाहुँदै मर्नको लागि एक कारण रोजेको छु। के थिएन र म सङ्ग, मेरी आमाको साथ, साथीहरुको हात, खान र लाउन अनि थोरै रमाइलो गर्न पुग्ने गरि पैसा पनि त कमाएकै थिएँ। के पर्याप्त थिएनन् र मलाई यी कारणहरू बाँच्नको लागि? अनि मैले आत्महत्या गरेँ त के का लागि? त्यसका लागि जसलाई मेरो मृत्युले पनि केही फरक पार्नेवाला थिएन। बाँचेर त जित्न नसकेको उस्को विश्वास खै मरेर त के जितौँला। सायद उस्लाई पनि तड्पाउँछु भन्ने सोच आएको हुँदो हो। आखिर मेरो मृत्यु पछि उ जति नै तड्पिए मैले उस्लाई पाउने वाला त थिइन। अनि न त म उस्को तड्पाई देखेर खुसी हुँदै ताली नै पड्काउन सक्थेँ। म त कोसौँ दूर आइसकेको थिएँ। मलाई लगिन्छ एक अँध्यारो कोठामा। जहाँ भित्तामा एउटा ठूलो पर्दा टाँगिएको छ। म माथी प्रश्न आउँछ, "हेर्न चाहन्छस, तेरो कारण्ले तल के भैरहेको छ?" म स्विकृतिको मुन्टो हल्लाउंछु। अनि खुल्दछ पर्दा अनि देखिन्छ मेरो घर।

पिँढिमा आमा एक्लै बस्नुभएको छ। सुकेर दाउरा जस्तै भएको छ ज्यान पनि। तेहि आमा जसले मेरो भबिश्यको लागि सबैथोक त्याग्नु भो। बाबा बितेपछी मेरो रेखदेख गर्न कति गार्‍हो भाको थियो होला। जसलाई आफ्नो जिन्दगी ठानिन, आज त्यही छोराले अरु कोइ को लागि आफ्नो जिन्दगिको बलि दिएको छ। आमाको आँखामा हेर्छु।।।उहाँको आँसु देख्न नसकेर उहाँलाई अङ्गालो हाल्न मन लाग्छ। अनि मन लाग्छ फर्केर जान। साँच्चै कति खुसी हुनुहुदो हो आमा। तर म सङग पस्चाताप गर्नु बाहेक कहाँ छ र बिकल्प। अर्को पर्दा खुल्छ अनि खुल्छन अरु चित्रहरु। आवाज आउँछ" तैँले यसैका लागि आत्महत्या गरेको होइनस? ल हेर"। म देख्दछु उ निकै हँसिलो मुद्रामा साथिहरु सङ्ग गफिंदै छे। मेरो मृत्युले उसलाई छोएकै छैन। अनि पो लाग्छ जिन्दगिको सबै भन्दा भुल गरेछु भन्ने पश्चाताप अनि फर्किन चाहन्छु आफ्नै घर।तर निकै अबेर भैसकेको हुन्छ। पछाडी बाट एकजनाले हिर्काउँदै भन्छ, "हिँड यही तेरो बाटो।" म छिर्छु नर्कको साँघुरो बाटो तिर। बाटो भरी फोहोर नै फोहोर छ। नहोस पनि किन, आखिर नर्क त म जस्तै बुद्धिहिन हरुले न भरिएको छ।

About Punya Prasad Kaphle

Punya Kafle was born in 2045 B.S. and has been serving as a teacher since 2067 B.S. With a deep love for literature since childhood, he finds joy in expressing thoughts and emotions through words. Though primarily devoted to teaching, he writes occasionally—crafting stories, poems, and reflections inspired by life, society, and human experience.

Read more by Punya Prasad Kaphle →

Posts You May Like

Comments

Anil K.C.
09 Mar 2026
this was good